Monday, August 27, 2012

तीन वर्षभित्र तिनकुने-माइतीघर फ्लाई ओभर

तीन वर्षभित्र सञ्चालनमा ल्याउने योजनासाथ सडक विभागले तिनकुनेदेखि माइतीघरसम्मको फ्लाई ओभरको विस्तृत डिजाइन तयार पारेको छ।  ६० करोड अनुमानित लागतमा योजना अघि बढाएको विभागले अबको छ महिनाभित्रमा टेन्डर गरी निर्माण सुरु गर्ने बताएको छ। यसका लागि विभागले आइतबार अभियान कन्सल्टेन्सीसहितको सरोकारवाला निकायसित छलफल कार्यक्रम आयोजना गर्‍यो।  कार्यक्रममा डिजाइनको जिम्मा पाएको स्वाइल टेस्ट तथा अभियान कन्सल्टेन्सीका प्रमुख प्रशान्त मल्लले बानेश्वरमा जम्मा १७ मिटर चौडाइसाथ चार लेनको फ्लाई ओभर बनाउने तयारी भइरहेको बताए। त्यसैगरी थापाथलीदेखि सोल्टिमोडसम्म तीन लेनको फ्लाई ओभर बनाउनेबारे अध्ययन भइरहेको उनले बताए।

उनले हाल बानेश्वर सडकमा सडक विस्तार भइरहेकाले त्यहाँ चार लेनको तथा थापाथलीदेखि सोल्टिमोडसम्म घर धेरै पर्ने भएकाले त्यहाँ तीन लेनको सडक बनाउने तयारी भएको बताए।

'थापाथलीदेखि सोल्टीसम्म चार लेनको फ्लाई ओभर बनाउँदा मानिसको घरसम्म पुलले छुने देखियो,' मल्लले नागरिकलाई भने, 'त्यसैले त्यहाँको सुरक्षालाई ध्यानमा राखेर त्यहाँ तीन लेनको सडक बनाउने योजना बनायौं।' उनले त्यसरी बनाइने फ्लाई ओभरका ठाउँठाउँमा तल झर्ने ठाउँ रहने बताए। फ्लाई ओभरले अरनिको तथा त्रिभुवन राजपथलाई समेत जोड्ने हुँदा त्यसमा 'एक्सप्रेस गाडी', दु्त गतिका चारपांग्रे सवारीलाई मात्र छिर्न दिइने उनले जनाए।

तिनकुनेदेखि सोल्टिमोडसम्म क्रमशः जाने यो फ्लाई ओभर सुरुमा तिनकुनेदेखि माइतीघरसम्म निर्माण हुनेछ। जुन १७ मिटर चौडाइसहित ३०/३० मिटरको तीनवटा खम्बामा अडिनेछ। यहाँ पैदलयात्रुका लागि चार तिरबाटै छिर्न मिल्ने तीन मिटर गहिरो तथा छ मिटर फराकिलो भूमिगत सुरुङसमेत रहनेछ। जहाँ छिरेपछि पैदल यात्रुले बाटो काट्नकै लागि बाहिर आउनु पर्दैन।

'काठमाडौंको सबैभन्दा धेरै भीडभाड हुने क्षेत्र बानेश्वर भएकाले हामीले यसैलाई प्राथमिकता दिएका हौं,' सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सरोज प्रधानले भने, 'यसको निर्माण सुरु हुनासाथ अन्तको काम पनि अगाडि बढाउनेछौं।'

विभागले पुरानो बानेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर तथा सोल्टिमोड लगायत काठमाडौंका पाँच ठाउँमा फ्लाई ओभर बनाउन एक वर्षपहिले सोइल टेस्ट प्रालि तथा अभियान कन्सल्टिङलाई अध्ययनको जिम्मा दिएको थियो। विभागले एक करोड ६ लाख रुपैयाँ लागतमा पाँच वटा फ्लाई ओभरको सम्पूर्ण अध्ययनकार्य सक्ने बताएको छ।

अध्ययन क्रममा अभियानले बानेश्वरमा एक साता सिसिटिभी लगाई प्रतिदिन बानेश्वरमा एक लाखसम्म सवारी आवतजावत गर्ने तथा ५० हजार पैदल यात्रु हिँड्ने निष्कर्ष निकालेको थियो।
(नागरिकन्युज.कम   बाट साभार )

 फेसबुक मा share  को लागि तलको LIKE BUTTON  क्लिक  गरि SHARE गर्नु होला!!!!



No comments:

Post a Comment